काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आगामी मंसिर २३ गते सातौं वार्षिक साधारणसभा बस्ने भएको छ। मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा बोलाउने निर्णय गरेको हो। सभा काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
निफ्राको साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय प्रतिवेदन पारित गर्नेछ। साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी उनको पारिश्रमिक तोक्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।
दुई सञ्चालकको निर्वाचन
सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन पनि यो साधारणसभाले गर्नेछ। निफ्राको भदौ १९ गतेको सञ्चालक समिति बैठकले शेयरधनीलाई चुक्ता पुँजीको ६.३१५८ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरिसकेको भए पनि उक्त प्रस्ताव यस पटकको साधारणसभा एजेन्डामा समावेश गरिएको छैन।
बुक क्लोज मंसिर १२ मा
साधारणसभा प्रयोजनका लागि निफ्राले मंसिर १२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर ११ गतेसम्म नेप्सेमा नाम दर्ता भएका शेयरधनीहरू मात्र सभामा सहभागी हुन पाउनेछन्।
निफ्राले साधारणसभासम्बन्धी सम्पूर्ण तयारी अघि बढाइसकेको जनाएको छ।


























