नेपाली शेयर न्यूज । चालू आर्थिक वर्ष २०८२/०८३ को पाँच महिनामा नेपालले ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार ५ सय ५२ रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार साउनदेखि मंसिरसम्म कुल ४३८ वटा वैदेशिक लगानी प्रतिबद्धता आएका हुन्।
विभागका अनुसार स्वचालित प्रणालीमार्फत १५२ वटा र विभागमै उपस्थित भएर २८६ वटा लगानी प्रतिबद्धता दर्ता भएका छन्। स्वचालित प्रणालीबाट २ अर्ब ५९ करोड ४ लाख ८६ हजार रुपैयाँ र विभागमार्फत स्वीकृत भई ३६ अर्ब ६१ लाख ५८ हजार ५ सय ५२ रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको जनाइएको छ।
लगानी प्रतिबद्धताअनुसार पूँजी भित्रिएमा करिब ३३ हजार ८ सय १४ रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। मंसिर महिनामा मात्रै ५६ वटा परियोजनाबाट १ अर्ब ९१ करोड ४९ लाख ५८ हजार ५ सय ५२ रुपैयाँको एफडीआई प्रतिबद्धता आएको विभागले जनाएको छ।
यो अवधिमा साना, मझौला र ठूला उद्योग सञ्चालनका लागि विदेशी लगानी प्रतिबद्धता आएको हो। जसमध्ये सबैभन्दा धेरै ४२३ वटा साना उद्योग, ८ वटा मझौला उद्योग र ७ वटा ठूला उद्योगका लागि स्वीकृति प्रदान गरिएको छ।
क्षेत्रगत रूपमा हेर्दा सूचना प्रविधि क्षेत्रमा सबैभन्दा बढी २३६ वटा उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ। त्यसपछि पर्यटन क्षेत्रमा १८५ वटा, सेवा क्षेत्रमा २८ वटा, उत्पादनमा २४ वटा, कृषिमा १३ वटा, खनिजमा १ वटा र ऊर्जामा १ वटा उद्योगका लागि विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ।
अघिल्लो आर्थिक वर्षझैं यस वर्ष पनि साउनदेखि मंसिरसम्म वैदेशिक लगानी प्रतिबद्धताको प्रवृत्ति ओरालो लागेको देखिएको छ। सोही अवधिमा व्यावसायिक भिसा लिने विदेशी लगानीकर्ताको संख्या पनि घटेको छ। गत वर्षको यही अवधिमा १ हजार ७ सय ८२ जनाले व्यावसायिक भिसा लिएकामा यस वर्ष १ हजार ३२ जनाले मात्रै भिसा लिएका छन्। लगानीकर्ताका प्रतिनिधि र डिपेन्डेन्टको संख्या पनि घटेको विभागले जनाएको छ।
त्यसैगरी, गत आर्थिक वर्षमा ९ वटा प्रविधि हस्तान्तरण सम्झौता भएकोमा चालू वर्षको पाँच महिनामा ४ वटा मात्रै सम्झौता भएको छ। विभागका अनुसार यस अवधिमा विदेशी लगानीकर्ताले करिब ५ अर्ब रुपैयाँ बराबरको लाभांश विदेश लगेका छन्।




























