नेपाली शेयर न्यूज । बैंक तथा वित्तीय संस्थाहरुले शेयर धितोमा प्रवाह गर्ने मार्जिन कर्जा निरन्तर बढाइरहेका छन्। नेपाल राष्ट्र बैंकका तथ्याङ्क अनुसार चालु आवको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले मार्जिन कर्जा शीर्षकमा १ खर्ब ४६ अर्ब २२ करोड रुपैयाँ लगानी गरेका छन्।
गत असारसम्म बैंकहरुले शेयर धितोमा १ खर्ब ४० अर्ब ७० करोड २१ लाख रुपैयाँ लगानी गरेकोमा चार महिनामा ३.९ प्रतिशतले वृद्धि भएको देखिन्छ। राष्ट्र बैंकका अनुसार, चार महिनामा मात्रै ५ अर्ब ५२ करोड २७ लाख रुपैयाँ नयाँ मार्जिन कर्जा प्रवाह भएको छ, जसमा १ अर्ब २७ करोड रुपैयाँ कात्तिक महिनामा मात्र प्रवाह भएको हो।
बजारमा लगानीको स्तर अनुसार, १ करोड रुपैयाँभन्दा बढीको शेयर धितो कर्जा ४.२ प्रतिशतले बढेर १ खर्ब ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, ५० लाखदेखि १ करोड रुपैयाँसम्मको कर्जा ४ प्रतिशतले बढेर १६ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ पुगेको छ। २५ लाखदेखि ५० लाख रुपैयाँसम्मको कर्जा २.३ प्रतिशतले बढेर १७ अर्ब ९६ करोड पुगेको छ।
साना लगानीकर्ताका लागि, २५ लाख रुपैयाँसम्मको शेयर धितो कर्जा ४.६ प्रतिशतले बढेर ८ अर्ब ५५ करोड ३० लाख रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।
विगतमा ५० लाख रुपैयाँभन्दा माथिको मार्जिन कर्जा लगानीमा १५० प्रतिशत जोखिम भार रहेको थियो, तर हाल उक्त नीति खुकुलो गरिएको छ। साथै, २५ करोड रुपैयाँसम्मको व्यक्तिगत मार्जिन कर्जा सीमा पनि हटाइएको छ।


























