नेपाली शेयर न्यूज । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले व्यवसायीहरूलाई वर्तमान आर्थिक अवस्थाबाट निराश नहुन आग्रह गर्दै उच्च मनोबलका साथ लगानी र व्यवसाय विस्तारमा अघि बढ्न आह्वान गरेका छन्।
गोरखापत्र संस्थानद्वारा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले निजी क्षेत्रले विगतमा धेरै आरोह–अवरोह पार गर्दै आजको अवस्थासम्म आइपुगेको स्मरण गराउँदै अब पनि साहस र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताए। उनले लोकतान्त्रिक अभ्यास, विशेषगरी आवधिक र स्वच्छ निर्वाचनले देशलाई स्थिरता र भरोसा प्रदान गरेको उल्लेख गरे।
‘कम स्रोत भएका व्यक्तिहरूले पनि स्वतन्त्र रूपमा निर्वाचन जित्न सक्नु लोकतन्त्रको सकारात्मक पक्ष हो,’ उनले भने, ‘हरेक निर्वाचनमा परम्परागत दल बाहिरबाट पनि प्रतिनिधि निर्वाचित हुनु देश अघि बढिरहेको संकेत हो।’
गभर्नर पौडेलले उत्पादनशील क्षेत्रमा लगानी बढाउन जोड दिँदै ऊर्जा र यातायातजस्ता पूर्वाधार क्षेत्रमा ठूलो खर्च गर्नुपर्ने समय आएको बताए। बैंकिङ क्षेत्रबाट आवश्यक सहयोग गर्न राष्ट्र बैंक तयार रहेको स्पष्ट पार्दै उनले निजी क्षेत्रसँग बोण्ड जारी गर्ने विषयमा निरन्तर छलफल र नेगोसेसन भइरहेको जानकारी दिए।
ऊर्जा क्षेत्रमा उत्पादन, प्रसारण र वितरण तथा यातायात पूर्वाधारमा ठूलो लगानीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै उनले यसका लागि नीतिगत तथा प्रक्रियागत सहजीकरण गर्ने प्रतिबद्धता जनाए।
‘ऊर्जा र यातायातमा धेरै सम्भावना छन्, तर ती सम्भावनाको थोरै मात्र उपयोग भएको छ,’ उनले भने, ‘ठूलो खर्च गर्न आँट गरौँ, राष्ट्र बैंकबाट आवश्यक सहजीकरण गर्छौँ।’
आन्तरिक द्वन्द्व, प्राकृतिक विपत्ति र अन्य कठिन परिस्थितिका बाबजुद पनि देश अघि बढिरहेको उल्लेख गर्दै गभर्नर पौडेलले सकारात्मक आधारलाई आत्मविश्वासका साथ उपयोग गरी निजी क्षेत्रले लगानी बढाए अर्थतन्त्र थप गतिशील बन्ने विश्वास व्यक्त गरे।


























