The Nepal Stock Exchange Limited is the only Stock Exchange of Nepal. It is located in Singha Durbar Plaza, Kathmandu, Nepal. As of February 08, 2021 the equity market capitalization of the companies listed on NEPSE was approximately US$30 billion.
अन्तर्राष्ट्रिय बैंक दिवसः नेपालसहित विश्वमा बैंकिङको इतिहास
December 4th 2025
0
0 shares
नेपाली शेयर न्यूज/अन्तर्राष्ट्रिय बैंक दिवस नेपालसहित विश्वभर मनाइँदैछ । यो दिवसले बैंक तथा वित्तीय संस्थाहरूलाई दिगो विकास लक्ष्य कार्यान्वयनमा सशक्त योगदान गर्न, जलवायु अनुकूल वित्तको विस्तार, जीवनस्तरमा सुधार ल्याउने वित्तीय पहुँच सुनिश्चित गर्न र समावेशी आर्थिक विकासमा सक्रिय भूमिका निर्वाह गर्न उत्प्रेरित गर्ने लक्ष्य लिएको छ ।
विश्व अर्थतन्त्रको बदलिँदो स्वरूपमा बैंकहरूको भूमिका केवल बचत, निक्षेप संकलन र ऋण प्रवाहसम्म सीमित छैन, बरु आर्थिक सशक्तीकरण, वातावरणीय दायित्व र सामाजिक न्यायको आधार निर्माणसम्म विस्तार भइसकेको छ । यही कारण अन्तर्राष्ट्रिय बैंक दिवसले वित्तीय क्षेत्रलाई केवल संस्थागत सुदृढीकरणको सवालमा नभई मानव विकास र पृथ्वीको संरक्षणमा जोड दिन आवश्यक देखिन्छ।
बैंकको इतिहास निकै पुरानो छ । प्रारम्भिक रूपले बैंकिङको सुरुवात सुमेर, बाबेलोन र प्राचीन मेसोपोटामिया सभ्यताका समयदेखि भएको मानिन्छ, जहाँ किसान, व्यापारी र समुदायबीचका लेनदेनका अभिलेख माटाका ट्याबलेटमा राखिन्थे ।
व्यापार र विनिमय प्रणालीको विस्तारसँगै सुन, चाँदी र धातु आधारित मूल्य प्रणाली विकास हुँदै गयो । पछि ग्रीक र रोमन सभ्यतामा व्यापारीलाई ऋण दिने, व्यापारिक जोखिम बाँडफाँड गर्ने र सम्पत्तिको सुरक्षित सञ्चय गर्ने प्रारम्भिक बैंकिङ क्रियाकलापहरू देखिन थाले । आधुनिक बैंकिङको अवधारणा धेरै पछि, मध्ययुग पछिको युरोपमा विकसित भएको हो ।
व्यापारिक क्रान्ति, जलयात्रा र औद्योगिक क्रान्तिले पूँजी सञ्चय र कारोबार विस्तारका लागि संगठित बैंकहरूको आवश्यकता बढायो। सन् १६०० आसपास इटाली, बेलायत र नेदरल्याण्ड्समा बैंकको संस्थागत विकासले आधुनिक वित्तीय प्रणालीको जग बसायो । सन् १६९४ मा स्थापना गरिएको बैंक अफ इङ्ल्यान्ड विश्वकै प्रभावशाली केन्द्रीय बैंकमध्ये एक मानिन्छ, जसले मौद्रिक नीतिको अवधारणा, नोट जारीकर्ता संस्था र वित्तीय नियमनको परिपाटी स्थापित गर्यो ।
विश्वमा बैंकिङ विस्तारको महत्व केवल आर्थिक विनिमयमा सीमित थिएन। यसले व्यापार र उद्योग विस्तारमा पूँजी उपलब्ध गराएर विश्व अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्यो। राष्ट्रनिर्माण, युद्ध वित्तपोषण, पूर्वाधार निर्माण, रोजगारी सृजनादेखि सामाजिक सुरक्षा प्रणाली निर्माणसम्म बैंकको योगदान रह्यो। पूँजीवादी प्रणालीको उदय तथा उदारीकरण र विश्वव्यापीकरणको विस्तारसँगै बैंकिङ प्रणाली अझ जटिल, प्रविधिमय र अन्तरनिर्भर बन्दै गयो। २०औं शताब्दीको उत्तरार्धदेखि इलेक्ट्रोनिक बैंकिङ, कार्ड भुक्तानी, अन्तर्राष्ट्रिय कारोबार, विदेशी लगानी तथा भुक्तानी प्रणालीले आर्थिक गतिविधिलाई वैश्विक प्रकृतिको बनायो।
नेपालमा बैंकिङ इतिहास अपेक्षाकृत ढिलो सुरु भएको हो। नेपालमा औपचारिक बैंकिङको सुरुवात १९९४ सालमा नेपाल बैंक लिमिटेडको स्थापना मार्फत भएको मानिन्छ । यसले बैंकिङ सेवा आमनागरिकमा पुर्याउन, व्यवस्थित वित्तीय कारोबार सञ्चालन गर्न र आधुनिक वित्तीय प्रणालीको आधार निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेको हो ।
यसअघि नेपालमा ऋण, सापट र आर्थिक लेनदेन व्यक्तिगत, धार्मिक संस्था वा व्यापारी समूहमार्फत अनौपचारिक रूपमा चल्ने गथ्र्यो। त्यसपछि नेपाल राष्ट्र बैंकको स्थापना २०१३ सालमा हुई, जसले देशको मौद्रिक नीति, बैंक नियमन, नोट जारी गर्ने जिम्मेवारी र समग्र वित्तीय स्थिरता सुनिश्चित गर्ने भूमिकालाई संस्थागत स्वरूप दियो। निजी क्षेत्रमा बैंकिङ प्रवेश, विदेशी लगानी, लघुवित्त, सहकारी, माइक्रोफाइनान्स र बीमा क्षेत्रमा विस्तारसँगै नेपालमा वित्तीय पहुँच क्रमशः व्यापक बन्यो। अहिले नेपालको ग्रामीण क्षेत्रमा समेत बैंक खाताको पहुँच बढेको छ, डिजिटल भुक्तानी प्रणाली अघि बढेको छ र वित्तीय समावेशिता सरकारी नीति तथा बैंकहरूको प्राथमिकताको विषय बनेको छ ।
विश्वव्यापी वित्तीय प्रणालीले पछिल्ला दशकमा तीव्र परिवर्तन भोगेको छ। डिजिटल बैंकिङ, मोबाइल फाइनान्स, ब्लकचेन, क्रिप्टोकरेन्सी र फिनटेक नवप्रवर्तनले परम्परागत बैंकिङ मोडेललाई चुनौती दिँदै नयाँ अवसरहरू सिर्जना गरेका छन्।
विश्वका बैंकहरूले अब केवल वित्तीय सेवा प्रदान गरिरहेको छैनन्, बरु प्रविधि कम्पनीझैं डेटा विश्लेषण, साइबर सुरक्षा, कृत्रिम बुद्धिमत्ता र ग्राहक अनुभव सुधारमा केन्द्रित भइरहेका छन्। यो परिवर्तनले जोखिम पनि बढाएको छ। साइबर अपराध, वित्तीय धोखाधडी, डेटा चोरी, मनी लाउन्डरिङ र अन्तर्राष्ट्रिय अपराध जस्ता समस्यासँग बैंकहरू संघर्षरत छन्। त्यसैले नियमन, पारदर्शिता, वित्तीय अनुशासन र ग्राहक सुरक्षा अहिलेको मुख्य चुनौती र प्राथमिकता हो।
अन्तर्राष्ट्रिय बैंक दिवस मनाइनुका पछाडि केवल एक ऐतिहासिक सम्झना छैन, यसको उद्देश्य भविष्य उन्मुख वित्तीय प्रणाली निर्माण हो। दिगो विकास लक्ष्य–एसडिजीले आर्थिक विकासलाई वातावरणीय संरक्षण र सामाजिक न्यायसँग जोड्छ। बैंकहरूले वातावरणमैत्री ऊर्जामा लगानी, हरित कर्जा, सामाजिक दायित्व कार्यक्रम, महिला उद्यमी सहयोग र विपन्न वर्गलाई वित्तीय पहुँच प्रदान गर्ने जिम्मेवारी बोकेका छन्।
वश्वका केहि बैंकहरूले कार्बन न्यूनिकरण, जलवायु जोखिम सूचक, हरित बन्ड, इइसजी मापदण्ड जस्ता उपकरणमार्फत वातावरणीय उत्तरदायित्व पूरा गर्दैछन्। वित्तीय क्षेत्र वातावरण परिवर्तनको समाधानमा मात्र होइन, यसको जोखिम व्यवस्थापनमा पनि अग्रसर हुनुपर्ने अपेक्षा बढेको छ।
नेपालमा पनि हरित वित्त, डिजिटल भुक्तानी, साइबर सुरक्षा, उद्यमशिलता प्रोत्साहन, कृषि वित्त, सूक्ष्म कर्जा र वित्तीय साक्षरता कार्यक्रमलाई प्राथमिकता दिइएको छ। सरकार, नियामक र बैंकहरूबीच समन्वय बढ्दै गएको छ। तर चुनौतीहरू अझै बाँकी छन्।
ग्रामीण क्षेत्रमा डिजिटल पहुँच अभाव, वित्तीय शिक्षा कमी, जोखिम व्यवस्थापन क्षमता सीमित, कर्जा प्रवाहमा असन्तुलन, आर्थिक अस्थिरता र नियमनको जटिलताले वित्तीय बजारलाई प्रभावित पार्ने गरेको छ। युवा र उद्यमीहरूको विचार, नवप्रवर्तन र व्यवसायलाई सस्तो, सहज र दिगो वित्तीय पहुँच दिन सकिएमा नेपालको आर्थिक रूपान्तरण तेज हुनसक्छ। बैंकहरूको सामाजिक दायित्व केवल नाफा कमाउने लक्ष्यमा होइन, जीवनस्तर सुधार, गरिबी न्यूनीकरण र अवसर समानिकरणमा आधारित हुनु पर्ने आवाज पनि बढ्दै गएको छ ।
विश्व अर्थतन्त्र जलवायु संकट, प्रविधिक क्रान्ति र सामाजिक रूपान्तरणको मोडमा छ । यस्तो अवस्थामा बैंकहरूको भूमिकाले नयाँ स्वरूप पाएको छ। एक समय वित्तीय शक्तिको प्रतीक रहे बैंकहरू अहिले सामाजिक उत्तरदायित्व, पारदर्शिता र वातावरणीय न्यायको आधारमा मूल्यांकन भइरहेको छ। भविष्यको बैंकिङ अधिक डिजिटल, समानिकृत, दिगो र संवेदनशील हुने अपेक्षा गरिएको छ । अन्तर्राष्ट्रिय बैंक दिवसले वित्तीय क्षेत्रलाई इतिहास सम्झाउँदै भविष्य तयार पार्न प्रेरणा प्रदान गर्दछ।
Leave a Reply
अन्तर्राष्ट्रिय बैंक दिवसः नेपालसहित विश्वमा बैंकिङको इतिहास | Nepali Share News