Development Bank

Sub Index

बैंकिङ

ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग

December 15th 2025

0

0 shares

ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग


नेपाली शेयर न्यूज । बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुमाथि पटक–पटक आक्रमण हुँदै आएको छ । हालै मात्र ज्योति विकास बैंक बर्दिबासका कर्मचारीमाथि कालोमासो र चप्पलको माला लगाउनुका साथै दुव्र्यवहार भइको छ । उक्त घटनाका चौतर्फी आलोचना समेत भएको छ ।


रुपनी शाखाबाट ऋण लिएका सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रालिका सञ्चालकले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न भन्दै बोलाएपछि क्षेत्रीय कार्यालय बर्दिबासका २ कर्मचारी फर्ममा पुगेका थिए ।


सो क्रममा फर्मका सञ्चालक तथा ऋणी र निजका परिवार तथा सहयोगीले कर्मचारीलाई नियन्त्रणमा लिई नियोजित रुपमा दुव्र्यवहार गर्दै आक्रमण गरेको बैंकले स्पष्ट पारेको छ । ‘छलफलका लागि खटाइएका कर्मचारीहरूलाई नियन्त्रणमा लिई नियोजित रूपमा दुव्र्यवहार गर्दै ज्यान मार्ने उद्देश्यले आक्रमण गरिएको आपराधिक घटनाको घोर भत्सर्ना गर्दछौं’ बैंकले एक विज्ञप्तिमार्फत भनेको छ ।


अपराधिक मनोवृत्तिले सुनियोजित ढंगबाट कर्मचारीलाई घन्टौंसम्म आफ्नो नियन्त्रणमा लिई बहालवाला उपमेयर समेतको संलग्नतामा यो घटना भएको बैंकको भनाइ छ । ‘कर्मचारीहरुलाई नियन्त्रणमा लिई धितो लिलामी स्थगनको निर्णय लिखित रुपमा तत्काल केन्द्रीय कार्यालयबाट पत्र उपलब्ध नगराएमा ज्यान लिने धम्की दिएको अवस्थामा सुरक्षा निकायबाट कुनै सहयोग नपाएपछि बैंकलाई विकल्पविहीन अवस्थामा उक्त पत्र लेख्न बाध्य बनाइएको छ’ बैंकले विज्ञप्तिमा भनेको छ ।


पछिल्लो समय विभिन्न अराजक तथा अपराधिक गतिविधिको निशानामा बैंक तथा वित्तीय संस्थाहरू परिरहेका छन् । यस्ता आपराधिक कार्यहरूको घोर निन्दा तथा भत्सर्ना गर्दै अपराधीलाई कानुनी दायरामा ल्याएर कडा कारबाही गर्न बैंकले माग गरेको छ ।


साथै आपराधिक मनसायले गरिने कार्यविरुद्ध ज्योति विकास बैंकले सधैं कडा रूपमा उभिने प्रतिबद्धता जनााएको छ । सप्तरीको रुपनीस्थित ज्योति विकास बैंक शाखाका कर्मचारीमाथि प्रवाहित कर्जासम्बन्धी छलफलका क्रममा अर्धन्यायिक निकायको नेतृत्वमा रहेका व्यक्तिहरूले नियोजित रुपमा घण्टौंसम्म कब्जामा राख्दै घृणित र हिंस्रक व्यवहार गरेको घटनाप्रति सिबिफिनले कडा आपत्ति प्रकट गरेको छ।


सिबिफिनले घटनालाई अत्यन्त लज्जास्पद, पशुवत र अस्वीकार्य व्यवहार भएको भन्दै घोर भत्र्सना गरेको छ। घटना लगत्तै स्थानीय सुरक्षा निकायले पीडितको जाहेरी दर्ता नगरी मिलापत्रको दबाब दिएकोप्रति समेत संगठनले कडा आपत्ति जनाएको छ।


संस्था अनुसार निहित स्वार्थका लागि बैंक तथा वित्तीय संस्था जस्ता संवेदनशील क्षेत्रमाथि गरिएको यस्तो आक्रमणले कर्मचारीको मनोवैज्ञानिक स्वास्थ्यमा गम्भीर असर पु¥याउने हुँदा दोषीलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।


सिबिफिनले भनेको छ, ‘बैंकिङ क्षेत्रका कर्मचारीमाथि गरिएको आक्रमण केवल व्यक्तिगत वा संस्थागत मात्र नभई नेपाल सरकारमाथिको पनि प्रत्यक्ष चुनौती हो। बैंक तथा वित्तीय संस्थाको साख, गरिमा र सम्पत्तिमा हानि पु¥याउने वा व्यवसायमा अवरोध सिर्जना गर्ने कुनै पनि प्रयास संवेदनशील रूपमा हेरिनुपर्छ।’


त्यस्तै, बैंकमा गुनासो भए कानूनअनुसार व्यवस्थापन वा नेपाल राष्ट्र बैंकको उजुरी सुनुवाइ इकाइमार्फत समाधान सम्भव हुँदाहुँदै पनि आफ्नै हातमा कानून लिएर घटाइने यस्ता कार्यले मुलुकको बैंकिङ वातावरण र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्न सक्ने चेतावनी सिबिफिनले दिएको छ।


सिबिफिनले संघीय, प्रदेश, स्थानीय सरकार र गृह मन्त्रालयसहित सबै जिम्मेवार निकायमा बैंक तथा वित्तीय संस्था र कर्मचारीहरुको प्रभावकारी सुरक्षा सुनिश्चित गर्न अपील गरेको छ। बैंक तथा

वित्तीय संस्थाका सीईओहरूको संगठनले ज्योति विकास बैंक लिमिटेडका कर्मचारीहरूमाथि भएको आपराधिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।


संघठनले जारी गरेको विज्ञप्तिमा रुपनी शाखाका ऋणी सप्तकोशी इन्टिग्रेटेड एग्रो फर्म प्रा.लि.का सञ्चालकहरूले कर्जाको किस्ता नियमित गर्ने सम्बन्धमा छलफल गर्न बोलाएर बैंकका क्षेत्रीय कार्यालय बर्दिबासका कर्मचारीहरूलाई मंसिर २४ गते नियन्त्रणमा लिई दुव्र्यवहार र आक्रमण गरेको घटनालाई घोर निन्दा गरेको छ। संगठनले यसलाई नियोजित र अमानवीय व्यवहारको रूपमा वर्णन गर्दै बैंकिङ क्षेत्रमा बढ्दो अराजक गतिविधिप्रति चिन्ता व्यक्त गरेको छ।


विज्ञप्तिमा भनिएको छ ‘नियामक निकायबाट जारी गरिएका नीति तथा निर्देशन र विभिन्न ऐन–कानूनको पालना गर्दै निक्षेप संकलन, कर्जा प्रवाह, वित्तीय सेवा प्रदान लगायत विभिन्न कार्यहरू सञ्चालन गरी आम जनता तथा देशको समग्र प्रगतिका लागि आत्मसाथ गर्दै आएका बैंक तथा वित्तीय संस्थाहरू पछिल्लो समय विभिन्न अराजक गतिविधिको निशानामा परिरहेका छन् ।’

संगठनले कानुनी बाटो अपनाउन सकिने भए पनि कानुन आफ्नै हातमा लिने कार्यको भत्र्सना गर्दै कर्मचारीहरूको ज्यानै लिन खोज्ने सुनियोजित आपराधिक कार्यको घोर भत्र्सना गरेको जनाएको छ। घटना घटेकै दिन सम्बन्धित निकायलाई जानकारी गराइए पनि तत्काल सम्बोधन नहुने र जाहेरी दर्ता नहुनु खेदजनक भएको उल्लेख गर्दै संगठनले स्थानीय प्रहरी प्रशासनको कमजोरीप्रति ध्यानाकर्षण गराएको छ।


भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायबाट स्वतः अनुसन्धान अगाडि बढाउन र अपराधीहरूलाई तत्काल कारबाही गर्न संगठनले जोडदार माग गरेको छ।

यस्तै बैंक, बीमा, लघुवित्त तथा पूँजी बजारलगायत वित्तीय क्षेत्रका कर्मचारीमाथि पछिल्लो समय भइरहेको अभद्र व्यवहार र भौतिक आक्रमणप्रति नेपाल वित्तीय संस्था कर्मचारी संघ राष्ट्रिय समितिले गम्भीर आपत्ति जनाएको छ। २१ हजारभन्दा बढी कर्मचारीलाई संगठित गर्दै ५१ वटा वित्तीय संस्थाका प्रतिष्ठानस्तरीय ट्रेड युनियनको नेतृत्व गर्दै आएको संघले यस्तो अराजक गतिविधिले सम्पूर्ण वित्तीय क्षेत्र नै असुरक्षित बन्दै गएको जनाएको छ।


संघले जारी गरेको ध्यानाकर्षण विज्ञप्तिमा नियामक निकायको नीति–निर्देशनको पालना गर्दै लामो समयदेखि लाखौँ सेवाग्राहीलाई बैंकिङ तथा वित्तीय सेवा प्रदान गर्दै आएका संस्थामाथि केही समूहले भ्रामक प्रचार फैलाएर जनमानसमा नकारात्मक सन्देश प्रवाह गरिरहेको आरोप लगाइएको छ। त्यसकै असरस्वरूप बैंक तथा लघुवित्तका शाखा कार्यालयमा तोडफोड, क्षति पु¥याउने र कर्मचारीमाथि आक्रमणका घटना बढ्दै गएको संघको ठहर छ।


विज्ञप्तिमा विशेषगरी ज्योति विकास बैंकका प्रादेशिक कार्यालयका उप–प्रबन्धक सुमित श्रेष्ठ र रुपनी शाखाका कर्मचारी सविन श्रेष्ठमाथि कार्य जिम्मेवारीकै क्रममा कालोमोसो दल्ने, जुत्ताको माला लगाउने र कुटपिट गर्ने घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। अत्यावश्यक सेवामा सूचीकृत बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरू यस्ता घटनाका कारण त्रासपूर्ण वातावरणमा काम गर्न बाध्य भएको संघको भनाइ छ।



ज्योति विकास बैंकका कर्मचारीमाथि दुव्र्यवहार गर्नेलाई हदैसम्मको कारबाहीको माग

Leave a Comment

Nepali Share News

Company info : Nepali share news pvt.ltd. Info Dept. Reg : 52992082/2086

Email Us: [email protected]

Contact: 9803674997

Copyright © 2026 NepaliShareNews

Designed and Developed By

NepalTech