नेपाली शेयर न्यूज/ अघिल्लो साता गिरावट आएको शेयर बजार यो एकाएक हरियाली छाएको छ । लगानीकर्ताहरू पहिलो त्रैमासिक वित्तीय विवरणको प्रतिक्षामा रहेका बेला बजारमा केही स्थिरता देखिएको थियो । तर, बैंकहरूले शेयर धितो कर्जाको ब्याजदर घटाएर आधार दरमै सुविधा उपलब्ध गराउन थालेपछि बजारमा पुनः लयमा फर्किन थालेको हो । अर्कोतर्फ दुर्गा प्रसाईं समूहको आन्दोलन, नेपाल बन्द लगायतका हल्लाका कारण पनि लगानीकर्ताहरु आत्तिएको अवस्था थियो । तर सरकारले शनिबारमात्र प्रसाईंका समूहसँग वार्ता गरेर बन्द फिर्ता लिइसकेको छ भने प्रसाईं आइतबार छुटि सकेका छन् ।
अर्कोतर्फ नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । सोही अनुसार अबको समीक्षामा नियमनका केही महत्वपूर्ण प्रावधानमा लचकता अपनाउने आशामा लगानीकर्ताहरुमा उत्साह देखिएको छ । जसले गर्दा यो साता शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ ।
पछिल्लो दुई कारोबार दिनमा नेप्से परिसूचकमा कुल ८७.१४ अंकको वृद्धि भएको छ । आइतबार नेप्से ३३.९२ अंकले बढेको थियो भने सोमबार ४७.२२ अंकले उकालो लागेको छ । यससँगै नेप्से २६४७.४४ विन्दु माथि पुगेको छ । कारोबार रकममा पनि उल्लेखनीय वृद्धि आएको छ । आइतबार ६ अर्ब २८ करोड रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको बजारमा सोमबार ७ अर्ब ३ करोड ५४ लाख ८० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो वृद्धिले बजारमा लगानीकर्ताको उत्साह र विश्वास बढेको देखाउँछ । अर्कोतर्फ बजारको टेक्निकल अवस्था के छ ?, टेक्निकल एनालाइसिसको अनुसार बजारमा बाइ सिग्नल छ कि सेल सिग्नल के जेनेरेट भएको छ । त्यसको हामी विस्तृत रुपमा प्रस्तुत गर्नेछौं ।
बजारको टेक्निकल अवस्था
बजारको टेक्निकल अवस्थालाई हेर्दा यस साता शेयर बजारमा स्पष्ट ‘बाइ सिग्नल’ देख्न सकिन्छ । लामो समयदेखि बजारलाई दबाइरहेको रेसिस्टेन्स लाइन ब्रेक भएको छ । बजार ३,००० अंकबाट घटेपछि जुन क्षेत्र सप्लाई जोनको रूपमा काम गरिरहेको थियो, माथिको तस्बिरमा देखाएझैं बजारले त्यही सप्लाई जोन ब्रेक गर्दै बाइ सिग्नल बनाएको छ । टेक्निकल एनालाइसिसका तीनवटा मुख्य प्यारामिटरमध्ये पहिलो सिग्नल क्यान्डलस्टिक प्याटर्नबाट आउने हो । नोभेम्बर १२, २०२५ मा बनेको ठूलो रेड क्यान्डलको हाई २५६६ लेभललाई बजारले नोभेम्बर २३, २०२५ मा बनेको क्यान्डलले ब्रेक गरेको छ । यसब्रेक आउटसँगै पहिलो बाइ सिग्नल उत्पन्न भएको देखिन्छ ।
दोस्रो बाइ सिग्नल बजारको बियरिस्ट ट्रेन्ड लाइनको ब्रेकआउटबाट आएको हो । बजार ३,००० बाट ओरालो लागेपछि लगातार रेसिस्टेन्सको रूपमा काम गर्दै आएको ट्रेन्ड लाइनलाई बजारले आइतबार ब्रेक गरेको छ । आइतबार ६.२२ अर्ब बराबरको कारोवारसहित आएको ब्रेकआउट अघिल्लो दिनको ४.६ अर्बको तुलनामा उच्च भोलुममा आएकोले टेक्निकल हिसाबले यो ‘भ्यालिड ब्रेकआउट’ मानिन्छ । यसले दोस्रो बाइ सिग्नल पुष्टि गरेको छ । तेस्रो वा अन्तिम बाइ सिग्नल चेन्ज अफ क्यारेक्टरबाट आएको हो ।
बजारले बुधबार आफ्नो अघिल्लो हाइ ब्रेक गर्दै हाइयर हाइ बनाएको छ । बजार ३,००० बाट घटेपछि लगातार लोअर हाइ र लोअर लो बनाइरहेको थियो । तर रिसेन्ट समय २५३० लेभलबाट बजारले हाइयर लो बनाएको र आज अघिल्लो हाइ ब्रेक गर्दै हाइयर हाइ बनाएकोले बजारले नेगेटिभ (बियरिस) क्यारेक्टरबाट पोजेटिभ (बुलिस) क्यारेक्टरमा प्रवेश गरेको देखिन्छ । यसरी तीनवटा प्यारामिटरबाट बजारमा बाइ सिग्नल उत्पन्न भएको छ ।
यसपछि स्टप–लस वा प्रफिट बुकिङ कहिले गर्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । कुनै पनि टेक्निकल उपकरण १००% एक्युरेट हुँदैन, त्यसैले रिस्क कम गर्न पहिले नै स्टप–लस र प्रफिट–बुकिङ लेभल सेट गर्नु आवश्यक हुन्छ । यदि बजार गलत दिशामा गयो भने सपोर्ट क्षेत्रमा देखाइएको ट्रेन्ड लाइन भंग हुँदा स्टप–लस ट्रिगर गर्नुपर्ने अवस्था आउँछ ।
सेक्टर–वाइज भोलुम हेर्दा पछिल्लो समय हाइड्रोपावर क्षेत्रमा ४५ प्रतिशत भन्दा बढी भोलुम आइरहेको थियो । तर आजको कारोबारमा हाइड्रोमा भोलुम खुम्चिएको र लाइफ इन्स्योरेन्सतर्फ भोलुम सरेको देखियो । लाइफ इन्स्योरेन्सका स्टकहरूमा उच्च कारोबार देखिएकाले लगानीकर्ताले सर्ट–टर्म ट्रेडिङ अवसर त्यही क्षेत्रमा खोजिरहेको अनुमान गर्न सकिन्छ ।



























