Nepali Share News l
नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्स लिमिटेडले आफ्नो विशेष साधारणसभा सफलताका साथ सम्पन्न गरेको छ। सोमबार काठमाडौंको आनन्दभूमि इभेन्ट्समा आयोजित उक्त सभाको अध्यक्षता कम्पनीका अध्यक्ष देवेन्द्र प्रताप शाहले गरेका थिए।
सभाले कम्पनीको विकास र आगामी योजनाका सम्बन्धमा केही महत्वपूर्ण निर्णयहरू गरेको छ:
- पुँजी वृद्धि: कम्पनीको जारी तथा चुक्ता पुँजी ५० करोडबाट बढाएर ६२ करोड ५० लाख रुपैयाँ पुर्याउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ।
- सेयर संरचनामा परिमार्जन: अब कम्पनीमा संस्थापक समूहको हिस्सा ८० प्रतिशत र सर्वसाधारणको हिस्सा २० प्रतिशत रहने गरी व्यवस्था मिलाइएको छ।
- सार्वजनिक निष्कासन (IPO) को तयारी: एक सफल लगानी कम्पनीको रूपमा नेक्सजेनले छिट्टै सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनाएको छ। कम्पनी लगातार तीन वर्षदेखि नाफामा रहेको र यसको नेटवर्थ पनि सकारात्मक रहेकाले धितोपत्र बोर्डको मापदण्ड पूरा गरी आईपीओ प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिइएको छ।
सभामा १०० भन्दा बढी सेयरधनीहरूको उत्साहजनक उपस्थिति थियो। कार्यक्रममा प्रबन्ध सञ्चालक रमेश कुमार भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने अध्यक्ष शाहले कम्पनीको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। सेयरधनीहरूले राखेका जिज्ञासाको जवाफ सञ्चालक विजय बहादुर शाहले दिएका थिए र कार्यक्रमको अन्त्यमा सञ्चालक अजय कुमार मिश्रले धन्यवाद ज्ञापन गरेका थिए।



























