नेपाली शेयर न्यूज । सालपा विकास बैंक लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गर्दै पहिलो चरणको आईपीओ निष्कासन सुरु गरेको छ। बैंकले नेपाल धितोपत्र बोर्डबाट मंसिर ८ गते अनुमति पाएपछि प्रतिकित्ता १०० रुपैयाँदरका कुल १७ लाख २३ हजार ८८० कित्ता सेयर सार्वजनिक गर्ने तयारी पूरा गरेको हो।
पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता आईपीओ नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि छुट्याइएको छ। यसमा मंसिर २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिनेछ। आवेदकले न्यूनतम १० कित्ता र अधिकतम २५ हजार कित्तासम्म माग गर्न सक्नेछन्।
यस्तै, बैंकले ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, २६ हजार ११९ कित्ता कर्मचारीहरूको लागि सुरक्षित गरेको छ। बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर दोस्रो चरणमा सर्वसाधारणलाई निष्कासन गरिनेछ। आईपीओको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले बैंकलाई ‘आईआरएन सिंगल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवा उपलब्ध सबै बैंक तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ अनलाइनमार्फत सजिलै आवेदन दिन सक्नेछन्। धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी मुक्तिनाथ क्यापिटल लिमिटेडले सम्हाल्नेछ।



























