नेपाली शेयर न्यूज/ लगातार दुई दिन उच्च अंकले उक्लिएको सेयर बजार मंगलबार भने सुस्ताएको छ । बजार दोहोरो अंकमा बढ्ने अपेक्षा राखिएपनि लगानीकर्तालाई मिश्रित अनुभूति दिएको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५ अंकजति मात्र बढ्दै २६५६ अंकमा पुग्यो। अघिल्लो दुई दिन ९० अंकभन्दा बढीको तीव्र उछालसँग तुलना गर्दा आजको गति निकै न्यून रह्यो। बजार हरियालीमै रहे पनि उत्साह केही कम देखिनु बजारको प्राकृतिक सन्तुलन प्रक्रियाको संकेतका रूपमा हेरिएको छ।
बजार सामान्य अंकले मात्र बढे पनि लगानीकर्तामा पछिल्लो समय बनेको आशावादी वातावरण भने कायम नै छ। अघिल्ला दिनहरूमा बनेको तीव्र उछालले धेरैले नाफा सुरक्षित गर्न नाफा बुकिङ गरेका थिए, जसले बजारलाई स्थिर बनाउँदै लगिएको देखिन्छ। आज १२२ कम्पनीको सेयर मूल्य बढ्दा १२५ कम्पनी घटेका र १० कम्पनी स्थिर बसेको तथ्यांकले बजारमा दुवै मनोवृत्ति आशा र सतर्कता एकैपटक क्रियाशील रहेको संकेत गर्छ।
व्यापारिक संख्यामा भने उल्लेख्य गिरावट आएको छ। सोमबार ७ अर्बभन्दा बढीको कारोबार तथा आइतबार १४ अर्बभन्दा बढीको भारी कारोबार भएका बेला मंगलबार भने कारोबार ५ अर्ब ८२ करोड रुपैयाँमा सिमित भयो। कारोबार घट्नु कुनै खराब संकेत मात्र होइन, विश्लेषकहरूले यसको अर्थ नाफाबुकिङ, प्रतिक्षा अवस्था र बजारको सन्तुलन भएको बताइरहेका छन्। बजार उक्लिँदै गर्दा केही समयदेखि लगानीकर्तालाई पर्खाउने मुख्य कारण भनेको बैंक तथा वित्तीय संस्थाहरूको प्रथम त्रैमासिक वित्तीय विवरण हो। धेरै बैंकहरूको नाफा घट्ने, गैरकर्जा वृद्धि बढ्ने जस्ता सूचकहरूले दीर्घकालीन लगानीकर्तामा जोखिमको भावना बढाएको छ।
अर्कोतिर, लाभांश सिजन चलिरहेका कारण छोटो अवधिका लगानीकर्तामा भने उत्साह देखिएको छ। धेरै बैंकहरूले लाभांश प्रस्ताव सार्वजनिक गरिरहेकाले बजारमा पूँजी प्रवेशको गतिमा केही वृद्धि भएको छ। यसले अल्पकालीन रूपमा बजारलाई आधार दिएको देखिन्छ। अर्कोतर्फ राष्ट्र बैंक मौद्रिक नीति समीक्षाको तयारीमा पनि रहेको छ । यसले पनि लगानीकर्तामा उत्साह थपिएको छ ।
बजारमा सकारात्मकता थप्ने अर्को कारण बैंकहरूले शेयर धितो कर्जामा ब्याजदर घटाउन थालेको हो। केही दिनअघि एनआईसी एशिया बैंकले आधार दरमै यस्तो सुविधा ल्याएपछि अन्य बैंक पनि त्यसतर्फ आकर्षित हुँदैछन्। ब्याजदर घट्दा सेयर बजारमा तरलता थपिन्छ र लगानीकर्ताको जोखिम उठाउने क्षमता बढ्छ। यसले बजारको भावनात्मक सूचकलाई हरियालीतर्फ धकेल्ने काम गरेको छ।
नीतिगत मोडबाट पनि बजारमा केही सकारात्मक संकेत आएका छन्। सरकारले नेप्सेको संरचनात्मक सुधार, प्राविधिक सुधार तथा सञ्चालन क्षमता बढाउन उच्चस्तरीय सुझाव समिति गठन गरेको छ। पुँजी बजार नियामक सेबोनले पनि पछिल्लो समय निगरानी र सुधारको पहल बढाएको छ, जसले लगानीकर्तामा विश्वास जगाइरहेको छ। तर राजनीतिक अस्थिरता र विभिन्न समूहका आन्दोलनका घोषणाले बजारमा मध्यम स्तरको जोखिम भावना भने कायम राखेको छ।
यता, कम्पनीगत गतिविधिमा पनि बजारले मिश्रित प्रतिक्रिया दिएको छ। मंगलबार झापा इनर्जी लिमिटेड, सागर डिस्टिलरी लिमिटेड र श्रीनगर एग्रिटेक कम्पनी का सेयरमा सकारात्मक सर्किट (१०%) लागेको छ। ऊर्जा, मदिरा उत्पादन र कृषि–प्रविधि क्षेत्रका यी कम्पनीमा लगानीकर्ताको भरोसा बढ्नुले बजारमा विविध क्षेत्रहरू सक्रिय हुँदैछन् भन्ने संकेत गर्छ।
यद्यपि बजारका सबै क्षेत्र समान रूपमा हरियालीमा थिएनन्। विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूहको उपसूचक भने ऋणात्मक रहे। सर्वाधिक घाटा जोशी हाइड्रोपावरले बेहोर्नुप¥यो, जसले बजारमा क्षेत्रगत असमानता देखाइदियो। नेप्से आज पनि हरियालीमै बन्द भएकोले बजारको मुख्य मनोवृत्ति ‘आशा प्रधान’ नै रहेको देखिन्छ।
यस्तो छ बजार
सेयर बजारको परिसूचक नेप्से ५.३२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६५५ अंकमा कायम भएको छ । यो सहित ३ दिनदेखि बजार निरन्तर बढेको छ । नेप्से बढे पनि कारोबार रकम घटेको छ । अघिल्लो दिन ७ अर्ब ३ करोडको कारोबार भएकोमा आज ५ अर्ब ८२ करोडको भयो । १२२ कम्पनीको मूल्य बढ्दा १२५ को घट्यो भने १० को स्थिर रह्यो । दिनभर बजार सामान्य उतारचढामा रहे पनि अन्ततः बढेर बन्द भएको छ । होटल तथा पर्यटन सबैभन्दा धेरै १.४ प्रतिशत बढ्यो ।
त्यस्तै बैंकिङ ०.१९, फाइनान्स ०.०२, हाइड्रोपावर ०.१९, लगानी ०.२३, उत्पादन तथा प्रशोधन १.३०, माइक्रोफाइनान्स ०.०४, निर्जीवन बीमा ०.६५ र अन्य ०.४९ प्रतिशत बढे । व्यापार १.३३, जीवन बीमा ०.३० तथा विकास बैंक ०.२४ प्रतिशत घटे । तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढ्नेमा झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रिटेक कम्पनी छन् ।
त्यस्तै स्वस्तिक लघुवित्तको ८.२३, बन्दीपुर केबुलकारको ७.२३, दरामखोला हाइड्रोपावरको ६.८७ तथा हिमस्टार ऊर्जाको ५.३२ प्रतिशत मूल्य बढ्यो । जोशी हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ४.९६ प्रतिशत घट्यो । सुपरमाइको ३.१९ तथा भूगोल इनर्जीको २.७४ प्रतिशत मूल्य घट्यो । आज धेरै कारोबार भएका कम्पनीमा बन्दीपुर केबुलकार, हिमालयन रिइन्स्योरेन्स, ङादी ग्रुप, युनियन हाइड्रोपावर र शिवम् सिमेन्ट छन् ।
टप कारोबार गर्ने १० ब्रोकर



























