नेपाली शेयर न्यूज । भारतीय पूँजी बजारमा खुद्रा लगानीकर्ताको तीव्र वृद्धिले विश्वभरका फन्ड हाउसलाई फेरि भारततर्फ फर्काइरहेको छ। तीव्र आर्थिक वृद्धि, एसआईपी संस्कार, सक्रिय प्राथमिक बजार र बढ्दो मध्यम वर्गका कारण भारत अब विश्वका ठूला एसेट म्यानेजरका लागि आकर्षक गन्तव्य बनेको छ।
सबैभन्दा ठूलो संकेत अमेरिकास्थित ब्ल्याकरकको ‘कमब्याक’ हो। २०१८ मा भारत छोडेको ब्ल्याकरकले यस वर्ष जियोसँग संयुक्त उद्यम स्थापना गर्दै ‘जियो–ब्ल्याकरक’ मार्फत दर्जनौँ नयाँ म्युचुअल फन्ड योजना शुरू गरेको छ। जुलाईसम्ममा तीन योजनाबाट मात्र २.१ अर्ब डलरभन्दा बढी संकलन भइसकेको छ।
विश्वकै चौथो ठूलो एसेट म्यानेजर स्टेट स्ट्रीटले पनि भारतमा फन्ड लगानी गर्ने योजना बनाइरहेको अन्तर्राष्ट्रिय समाचारहरूमा उल्लेख छ। अमेरिकादेखि दक्षिण कोरियासम्मका कम्पनीहरूले भारतमा युनिट सूचीबद्ध गर्ने तयारी तीव्र बनाएका छन्।
३.३ ट्रिलियन डलरको अवसर
बेन एन्ड कम्पनीका अनुसार भारतको खुद्रा–केन्द्रित म्युचुअल फन्ड सम्पत्ति २०२५ को ४५ खर्ब भारुबाट बढेर २०३५ सम्ममा ३०० खर्ब भारु, अर्थात् ३.३ ट्रिलियन डलर पुग्ने अनुमान छ। भारतको कुल म्युचुअल फन्ड सम्पत्तिको अनुपात जीडीपीको १५ प्रतिशतभन्दा कम छ, जबकि अमेरिका र क्यानडा जस्ता विकसित अर्थतन्त्रमा यो ८० प्रतिशत छ।
एसआईपी संस्कारले बजार द्रुत गतिमा अघि बढायो
भारतमा सिस्टेमाटिक इन्भेस्टमेन्ट प्लान (एसआईपी)ले म्युचुअल फन्ड बूमलाई गति दिएको छ। २०२१–२०२५ बीच एसआईपीमार्फत लगानी करिब तीन गुणा बढेर २.८९ खर्ब रुपैयाँ पुगेको छ। २०२३ मा घरपरिवारको वित्तीय बचतमा म्युचुअल फन्डको हिस्सा ०.९ प्रतिशतबाट बढेर ६ प्रतिशत पुगेको तथ्यांकले यस संकेत गर्छ।
आईपीओ बजार पनि तातो
यस वर्ष भारतको प्राथमिक बजार अत्यन्तै सक्रिय छ। पहिलो तीन त्रैमासिकमा २५२ वटा आईपीओबाट ११.४ अर्ब डलर उठिसकेको छ। एलजी इलेक्ट्रोनिक्सको आईपीओमा संस्थागत लगानीकर्ताको बुक १५० गुणा सब्सक्राइब भयो। यसरी आईपीओ ओभरसब्सक्राइब हुँदा म्युचुअल फन्डहरूले पनि उल्लेखनीय प्रतिफल पाएका छन्।
विदेशी लगानी र भविष्यको आकर्षण
भारतीय लगानीकर्ताले अमेरिकी एआई बूम र चीनको बजार पुनरुत्थानका कारण विदेशी बजारमा पनि लगानी बढाएका छन्। अफशोर म्युचुअल फन्डमार्फत लगानी तीव्र बढेको छ। भविष्यमा विदेशी फन्डहरूको भारत प्रवेश अझै तीव्र हुने विश्लेषकहरूको भनाइ छ। विशेषज्ञहरूका अनुसार बढ्दो आय, युवापुस्ताको लगानी संस्कार, डिजिटल वित्तीय सुविधा र सक्रिय आईपीओ बजारले भारतलाई अर्को दशकमा विश्वकै सबैभन्दा ठूलो खुद्रा–केन्द्रित फन्ड बजार बनाउने प्रक्षेपण छ।




























