लगानी अवसर
October 9th 2025
0
13 views
0 shares
काठमाडौं । अर्थतन्त्रका विद्यमान समस्या समाधान र लगानीकर्ताको मनोबल उकास्नेगरी नीतिगत सहजता गर्न अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनाललाई नेपाल चेम्बर अफ कमर्सले आग्रह गरेको छ। चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको पदाधिकारी तथा कार्यसमिति टोलीले अर्थमन्त्री खनालसँग बिहीबार भेटवार्ता गर्दै हालको आर्थिक परिस्थितिमा औद्योगिक तथा व्यावसायिक सुरक्षाको प्रत्याभूति र लगानीमैत्री वातावरण निर्माण गर्न आग्रह गरेको हो।
चेम्बरले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अर्थतन्त्रलाई सबल बनाउन निजी क्षेत्रसँग साझेदारी गर्दै नीतिगत स्पष्टता, लगानीमैत्री वातावरण र व्यावसायिक सुरक्षाको सुनिश्चितता गर्ने विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ भन्नेमा चेम्बर विश्वस्त रहेको छ।”
भेटमा चेम्बरले स्वदेशी र वैदेशिक लगानी आकर्षित गर्न लगानीसम्बन्धी नीतिमा थप सहजीकरण गर्न सुझाव दिएको छ। साथै, राज्य र निजी क्षेत्रबीचको संवाद संयन्त्रलाई सशक्त बनाउन पनि प्रस्ताव गरिएको छ। चेम्बरले आन्दोलनबाट प्रभावित साना, घरेलु तथा मझौला उद्यम व्यवसायका लागि सहुलियतपूर्ण ऋण, व्याज अनुदान, कर छुट र नवीकरण शुल्क मिनाहा गर्ने व्यवस्था गर्न आग्रह गरेको छ।
त्यस्तै, प्रतिष्ठित कम्पनी, बहुराष्ट्रिय कम्पनी, एलसीबाट आयातित र जिएसटीमार्फत आयातित सामानको भन्सारदर बिल मूल्यका आधारमा नै निर्धारण गर्नुपर्ने सुझाव पनि चेम्बरले अर्थमन्त्रीलाई दिएको छ। अध्यक्ष अग्रवालले भेटमा भने, “विश्व बैंकको पछिल्लो प्रतिवेदनले नेपालको निजी क्षेत्रलाई चिन्तित बनाएको छ। यस्तो अवस्थामा लगानीकर्ताको मनोबल बढाउने र व्यवसायिक विश्वास कायम राख्ने कदम जरुरी छ।”
जवाफमा अर्थमन्त्री डा. रामेश्वरप्रसाद खनालले निजी क्षेत्रको चासो बुझ्दै भने, “सरकार निजी क्षेत्रसँग सहकार्य गरेर लगानीमैत्री वातावरण सिर्जना गर्न प्रतिबद्ध छ। आर्थिक सुधारका ठोस कदम उठाउँदै अर्थतन्त्रलाई निकास दिने प्रयास भइरहेको छ।”
Oct 9 2025
Oct 12 2025