Nepse
लगानी अवसर
शेयर बजार
October 13th 2025
0
14 views
0 shares
काठमाडौं । सेयर बजारमैत्री नीति कार्यान्वयनका बाबजुद पनि नेप्से परिसूचक साताको पहिलो दिन पुनः राताम्मे बनेको छ। नेपाल राष्ट्र बैंकले लगानीकर्ताहरूको मागअनुसार मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा हटाउने सर्कुलर जारी गरेको भोलिपल्ट हरियाली बनेको बजार आइतबार पुनः भारी गिरावटमा पुगेको हो।
गत बुधबार (असोज २२ गते) राष्ट्र बैंकले सेयर धितोमा प्रवाह हुने मार्जिन कर्जाको अधिकतम एकल ग्राहक सीमा २५ करोड रुपैयाँ हटाउने निर्णय गरेको थियो। यसले केही दिन लगानीकर्तामा उत्साह जगाएको थियो र नेप्से परिसूचकमा सकारात्मक सर्किट समेत लागेको थियो। तर त्यो उत्साह क्षणिक मात्र रह्यो।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से ३.०५ प्रतिशतले घट्दै बजार नकारात्मक बनेको छ। परिसूचक ७८.८३ अंकले घटेर २ हजार ५ सय ३.३५ विन्दुमा बन्द भयो। अघिल्लो कारोबार दिन ०.८८ प्रतिशतले वृद्धि भएको बजारमा एकैदिन १ खर्ब ३१ अर्ब रुपैयाँ पुँजीकरण घटेको छ।
दैनिक कारोबार अवधिभर परिसूचक २,५८४.२४ विन्दुसम्म पुगे पनि अन्ततः २,४९३.१६ विन्दुसम्म तल झरेको थियो। यस दिन ९ कम्पनीका सेयर मूल्य मात्र बढ्दा २ सय ४२ कम्पनीका सेयर मूल्य घटेका थिए। कुल बजार पुँजीकरण ४३ खर्ब १६ अर्ब रुपैयाँबाट घटेर ४१ खर्ब ८४ अर्ब रुपैयाँमा झर्यो।
बढ्ने र घट्ने कम्पनीहरू
सबैभन्दा बढी मूल्य वृद्धि नेपाल माइक्रो इन्स्योरेन्सको भयो, जसको सेयर ६.०१ प्रतिशतले बढेर १ हजार १८२ रुपैयाँमा पुग्यो। यता, बुटवल पावर कम्पनी र नेपाल पुनर्बिमा कम्पनीका सेयर क्रमशः ९.२७ र ९.१५ प्रतिशतले घटे।
यस दिन ८६ अर्ब ७० करोड रुपैयाँभन्दा बढी मूल्यका १ करोड ४३ लाख कित्ता सेयर कारोबार भए। कारोबार रकमका हिसाबले नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रह्यो, जसको ३८ करोड रुपैयाँभन्दा बढीका ३ लाख १४ हजार कित्ता सेयर खरिदबिक्री भए।
राजनीतिक अनिश्चितताले बजार हल्लियो
सेयर जानकार देव गुरागाईंका अनुसार बजार घट्नुको मुख्य कारण राजनीतिक अस्थिरता हो। “राजनीति पहिले पनि स्थिर थिएन, तर अहिलेको अस्थिरता फरक छ। लगानीकर्ताहरू भोलिका दिनमा के हुने भन्नेमा अनिश्चित छन्,” उनले भने।
उनका अनुसार लगानीकर्ताहरूले असुरक्षित महसुस गरिरहेका छन् र “बरु ह्यान्ड क्यास लिएरै बसौं” भन्ने मनोवृत्ति बढेकाले बजार घटेको हो।
गुरागाईंका अनुसार अर्थमन्त्री रामेश्वर खनालले बजार र अर्थतन्त्र बुझ्ने व्यक्तित्वका रूपमा तुरुन्तै गर्न सकिने सुधारमा काम गरिरहेका छन्। “क्याप खोल्ने जस्ता सजिला कार्यहरू तुरुन्तै भए। संरचनागत सुधार भने रातारात सम्भव छैन,” उनले भने।
तर उनले बजार अझै २५०० बिन्दुको वरिपरि स्थिर रहन सक्ने अनुमान गरेका छन्। “२४७० वा २४६० भन्दा तल झर्यो भने बियरिस ट्रेन्डमा प्रवेश गर्ने खतरा हुन्छ,” उनले चेतावनी दिए।
नयाँ लगानीकर्ताका लागि अवसर
बजार घट्नु नयाँ लगानीकर्ताका लागि अवसर हो भन्ने विश्लेषण पनि बजार विज्ञहरूले गरेका छन्। गुरागाईं भन्छन्, “पुराना लगानीकर्तासँग नगद अभाव हुन सक्छ, तर नयाँ लगानीकर्ताका लागि यो प्रवेश गर्ने राम्रो मौका हो।”
यसैबीच, राष्ट्र बैंकले लकिङ पिरियड घटाउने नीति लागू गरेपछि इन्स्टिट्युसनल इन्भेस्टरहरूलाई लिक्विडिटी मेन्टेन गर्न सहज भएको छ। अब लकिङ पिरियड ६ महिनामा सीमित गरिएको छ, जसले बजारमा गतिशीलता बढाएको विश्लेषकहरूको भनाइ छ।
सोमबार नेप्सेमा हरियालीको संकेत
साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा भने बजारमा हरियाली देखिएको छ। नेप्से परिसूचक १७.६५ अंकले बढेर २,५२१ विन्दुमा पुगेको छ।
यो अवधिमा ४९ स्क्रिप्सका ९६ हजार ३७३ कित्ता सेयर ४ करोड ९६ लाख रुपैयाँमा कारोबार भएका छन्। तीमध्ये ३१ कम्पनीका सेयर मूल्य बढेका छन्, १५ घटेका छन् र बाँकी ३ स्थिर छन्।
Oct 9 2025
Oct 17 2025
Oct 13 2025
Oct 17 2025