Nepse
October 12th 2025
0
17 views
0 shares
काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा ठूलो गिरावट आएको छ। आइतबार नेप्से परिसूचक ७८ दशमलव ८३ अंकले घटेर २ हजार ५०३ दशमलव ३५ अंकमा कायम भएको छ। लगातार केही दिनको उकालोपछि बजारमा आएको यो भारी गिरावटले लगानीकर्ताहरूमा पुनः निराशा थपेको छ।
आजको कारोबारमा कुल ३२४ कम्पनीको १ करोड ४३ लाख ६४ हजार कित्ता शेयर किनबेच भएको छ। कुल कारोबार रकम ६ अर्ब ७० करोड ७२ लाख रुपैयाँ पुगेको छ। आज ९ कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने २४२ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीहरूको मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ।
आजको कारोबारमा नेपाल रिइन्स्योरेन्स कम्पनी सबैभन्दा बढी कारोबार भएको कम्पनी रह्यो। यस कम्पनीको ३८ करोड ७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
त्यसपछि एनएलजी इन्स्योरेन्सको ३७ करोड १७ लाख रुपैयाँ, युनियन हाइड्रोपावरको ३६ करोड ३३ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सको २३ करोड ४६ लाख रुपैयाँ र सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १६ करोड ७१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
बजारमा आज सबै समूहका सूचकहरू ओरालो लागेका छन्। विशेषगरी बीमा, जलविद्युत् र बैंकिङ समूहमा उल्लेखनीय गिरावट देखिएको छ। विश्लेषकहरूका अनुसार पछिल्ला दिनमा देखिएको अस्थिरता, लगानीकर्ताको मुनाफा असुल्ने प्रवृत्ति र मनोवैज्ञानिक प्रभावका कारण बजारमा गिरावट आएको हो।
नेप्से परिसूचक २,५०० अंकमाथि टिक्ने प्रयासमा रहे पनि आजको भारी गिरावटपछि आगामी दिनमा बजारको दिशा कुनतर्फ मोडिन्छ भन्ने विषयमा लगानीकर्ताहरू प्रतीक्षारत छन्।
Oct 9 2025
Oct 17 2025
Oct 17 2025
Oct 9 2025