Nepse
October 12th 2025
0
11 views
0 shares
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले कर्मचारी आन्दोलनका कारण नेपाल धितोपत्र बोर्डको कामकाज ठप्प भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनका कारण पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डबाट हुने सम्पूर्ण काम ठप्प हुँदा लगानीकर्ता र बजार प्रभावित भएको उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “गत भदौ ३१ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्डको स्थापनाकालदेखि कर्मचारीहरूले पाउँदै आएका सेवा–सुविधामा कटौती गर्ने, कल्याणकारी कोषमार्फत उपभोग गरिएको रकम फिर्ता गराउने र सरकारी बाँकीसरह असुलउपर गर्नेसमेतको निर्णय कार्यान्वयनका लागि पत्राचार गरेपछि करिब एक महिनादेखि सम्पूर्ण कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्। यसले गर्दा बोर्डका सम्पूर्ण कार्यहरू ठप्प भएका छन्।”
नेपालको पुँजी बजारको एकमात्र नियामक निकायका रूपमा रहेको धितोपत्र बोर्डले आफूमातहतका संस्थाहरूसहित सूचीकृत कम्पनीहरूलगायत ७०० भन्दा बढी संस्थाको नियमन गर्दै आएको एसोसिएसनले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, “धितोपत्र नियामकहरूको अन्तर्राष्ट्रिय संगठन (IOSCO) को सिद्धान्तअनुसार धितोपत्र बोर्ड स्वायत्त नियामकका रूपमा सञ्चालन हुनुपर्छ। तर अर्थ मन्त्रालयको हस्तक्षेपले त्यसको स्वायत्तता कमजोर हुँदै गएको छ।”
एसोसिएसनले अर्थ मन्त्रालयलाई धितोपत्र बोर्डको स्वायत्तता कायम राख्दै वार्ताका माध्यमबाट आन्दोलनरत कर्मचारीहरूको आत्मसम्मान हुने गरी अविलम्ब समाधान निकाल्न आग्रह गरेको छ।
विज्ञप्तिमा अझ भनिएको छ, “७० लाखभन्दा बढी लगानीकर्ता रहेको नेपालको पुँजी बजार प्रभावित हुने अवस्था आएको छ। त्यसैले बोर्डका कर्मचारीहरू सहज रूपमा पुनः काममा फर्किने वातावरण निर्माण गर्न अर्थ मन्त्रालयले पहल गर्नुपर्छ।”
Oct 9 2025
Oct 17 2025
Oct 13 2025
Oct 17 2025
Oct 9 2025